Popular Posts

Friday, 2 September 2016

लागूऔषधसहित २ इन्जिनियर पक्राउ, भन्छन्- ऋणको बोझले लागूऔषध कारोबारमा लागियो



Nabin-Bastola-and-Mahesh-Ga
१७ भदौ, भैरहवा । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इन्जिनियरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको सौराहा फर्साटिकर १ का २८ वर्षीय नविनराज बास्तोला र वडानम्बर २ का २५ वर्षीय महेश गैरे रहेका छन् । बास्तोला सिभिल इन्जिनियर हुन् भने गैरे आइटी इन्जिनियर हुन् ।
रुपन्देहीको सीमावर्ती भारतीय बजार सुनौलीबाट अवैध रुपमा झोलामा लुकाई छिपाई ल्याउने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक शंकर खनालले बताए ।
उनीहरुको साथबाट ठूलो परिमाणमा नुफिन, फेनारगन, नाइट्राभेट लगायतका २ हजार सिसि, नगद २३ हजार रुपैयाँ, ३ वटा मोबाइल, ल्यापटप र उनीहरुले प्रयोग गरेको लु १८ प ९३८१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको डिएसपी खनालले बताए । बरामद लागुऔषधको बजार मूल्यअनुसार करिब साढे ६ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
‘भैरहवाको खुल्ला सिमानाकाबाट अत्यधिक रुपमा लागुऔषध नेपालमा भित्रिन थालेको सूचना आउन थालेपछि हामीहरुले लागुऔषध नियन्त्रणका लागि गोप्य रुपमा दस्ता नै खडा गरेर तीनवटा टोली सिमाना वरीपरी खटाएर अपरेशन चलाएका छौं,’ डिएसपी खनालले भने, ‘बरामद लागुऔषध ठूलो परिमाणमा छ । यी लागुऔषध मुलुकमा भित्रिएमा धेरै युवा युवतीको जीवन बर्बाद हुन सक्थ्यो । यो अपरेशनको सफलता हो ।’
पक्राउ परेका युवाहरुले उक्त लागुऔषध विभिन्न स्थानमा पुर्‍याएबापत ३० हजार रुपैयाँ पाउने प्रराम्भिक बयानमा खुलेको डण्डाका सशस्त्र प्रहरी निरीक्षक तुलसीराम पाण्डेले बताए । उनका अनुसार पक्राउ परेका बास्तोलले योभन्दा अघि पनि एकपटक लागुऔषध ओसारपसार गरेका थिए । र दोस्रो पटकमा उनी पक्राउ परेका हुन् ।
क-कसको नाममा छ लागूऔषध ?
बरामद लागुऔषधहरु बट्टामा टेपले र्‍याप गरिएको छ । लागुऔषध राखिएका बट्टामा विभिन्न स्थानका विभिन्न व्यक्तिहरुको नाम छ । त्यसैका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको छ । ‘जुन लागुऔषधको बट्टा जसलाई दिने हो, त्यो बट्टा माथि उक्त व्यक्ति नाम र ठेगाना लेखिएको छ,’ डिएसपी पाण्डले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं ।’
Drugs
बरामद लागुऔषध पाँच जना व्यक्तिसमक्ष लैजान खोजिएको पाइएको छ । जसमा सोनु भन्ने खैरनीटारको नाममा ८ वटा बट्टा छन् । एउटा बट्टा भित्र ९० सीसी लागुऔषध टिडी जेसिक रहेको थियो ।
त्यस्तै खैरनीटारकै राजन भन्ने व्यक्तिको नाममा ३ बट्टा, खैरनीटारकै रैबन भन्ने व्यक्तिको नाममा १ बट्टा, मनकामनास्थित कमल भन्ने व्यक्तिको नाममा १० बट्टा र पोखराको अर्जुन भन्ने व्यक्तिको नाममा २ बट्टा छन् ।
घटना विवरण अनुसार सिभिल इन्जिनियर बास्तोलाले फर्साटिकरमा आफ्नै रेष्टुरेण्ट सञ्चालन गर्छन् भने गैरे वर्डलिंक नेटवर्क प्रालिमा कार्यरत छन् ।
इन्जिनियरिङबाट कमाइ नभएपछि लागूऔषधको धन्दा
इन्जिनियरिङ अध्यनन गरेर इन्जिनियर भएपनि नेपालमा काम नरहेको र पैसाको प्रलोभनमा आफूहरुले लागुऔषध ओसारपसार गरेको उनीहरु बताउँछन् ।
बास्तोलाको परिवार शिक्षित र आर्थिक रुपमा सम्पन्न रहेको छ । बास्तोलाको घरमा आमा, दुई दिदी र एक जना भाइ छन् । आमा पूर्व शिक्षिका हुन् । एउटी दिदी इजरायलमा छिन् भने अर्की दिदी स्टाफ नर्स हुन् । त्यस्तै भाइ दिल्लीमा चार्टर्ड एकाउन्ट (सिए) अध्ययन गर्दै छन् ।
पक्राउ परेका बास्तोला भन्छन्, ‘वुवाले धेरै मिहनेत गरेर मलाई इन्जिनियर बनाउनु भयो । मलाई पढाउनका लागि ऋण लिनु भयो । तर नेपालमा इन्जिनियरको राम्रो काम छैन । बुवा फोक्सोको क्यान्सरले बित्नु भयो । ऋण अझै बाँकी छ । घरको पूरै जिम्मा मेरो टाउकोमा थुपारियो ।’
उनी निराश मुद्रामा भन्छन्, ‘सडक डिभिजन कार्यालय बुटवलमा काम गरें । लक्ष्मी स्टिल, टेन्सबर्ग बियर कम्पनीमा काम गरें । तर केही भएन । म फर्सटेसनमा परें । अन्तमा मैले आफ्ने क्षेत्रमा एउटा रेष्टुरेण्ट खोलें । तर रेष्टुरेण्ट खासै चलेन । रेष्टुरेण्टका लागि आवश्यक उपभोग्य सामाग्रीहरु लिन भारतीय बजार सुनौली आउने क्रममा मेरो चिनजान लागुऔषध व्यापारीसँग भयो । र, त्यही लागुऔषध व्यापारीले नेपालमा लागूऔषध पुर्‍याए ३० हजार रुपैयाँ पाउने बताएपछि मैले लागुऔषध नेपालमा भित्राउन खोजेको हुँ ।’
त्यस्तै पक्राउ परेका अर्का गैरेलाई पनि उनको परिवारले ऋण लिएर आइटीका इन्जिनियर बनाए । उनको घरमा बुवा, आमा, हजुरआमा, दुई बहिनी र एक जना भाइ छन् । बहिनी र भाइ स्कुल, कलेज पढ्छन् । आमा गृहिणी हुन् र बुवा भने शिक्षक हुन् ।
उनले भारतको चन्दीगढमा बसेर आइटी इन्जिनियरिङ गरे । हाल आफूले दिल्लीमा एमसिएसइको फर्म भरेर आएको र घर आएका बेला दाइले -बास्तोलाले) भारतबाट नेपालमा लागुऔषध पुर्‍याबापत १० हजार रुपैयाँ पाउने बताएपछि प्रलोभनमा परेर लागुऔषध नेपालमा भित्राउन खोजेको उनले बताए ।
पक्राउ परेपछि भने उनले आफूलाई पश्चाताप लागेको बताए ।
‘बुवाको टाउकोमा ऋण थियो, खर्च धेरै थियो । घरबाट कति पैसा माग्ने । पैसा कहाँबाट ल्याउने, ऋण कसरी तिर्ने भन्ने चिन्ता थियो,’ उनले भने, ‘१० हजार रुपैयाँको लोभ गर्दा लोभले लाभ, लाभले विलाप जस्तै भयो ।’

0 comments:

Post a Comment

Blog Archive