प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना गर्न निर्देशन गरेको सचिवालयका कर्मचारी मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
निर्देशनलगत्तै यातायातमन्त्री लेखकले मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय थप गर्ने निर्णय गरेका हुन् । मन्त्री लेखकले छिटोमा दुई साता र ढिलोमा तीन साताभित्र थपिने कार्यालयहरू सञ्चालनमा आउने बताउनुभयो ।
थप तीनवटा कार्यालय सञ्चालनमा आएपछि मोटरसाइकल र गाडीको लाइसेन्स नयाँ निकाल्ने, नवीकरण गर्ने गराउने र सवारी साधनको कर तिर्ने काम छुट्टाछुट्टै स्थान, काउन्टरबाट गरिने र त्यसो गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै काम व्यवस्थित र छिटो हुने छ ।
सवारीचालक अनुमति पत्रको फाराम बुझाउनसमेत सेवाग्राहीहरू रातभरि लाइन बस्नु परेको गुनासो बढेपछि प्रधानमन्त्रीले काठमाडौँमा दुईवटा र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गरेर छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । -गोरखापत्र दैनिक






0 comments:
Post a Comment