Popular Posts

Sunday, 21 August 2016

पौडेल पक्षलाई समेत समेटिने गरी कांग्रेसमा मन्त्रीहरुको सूची तयार :: Read more news >>>

पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको तीन साता बित्नै लाग्दा पनि सत्तासाझेदाल दल कांग्रेसले अझै मन्त्रीहरुको नामावली पठाउन सकेको छैन ।



यस अघि नेपाल विद्यार्थी संघको निर्वाचनको कारण ढिलाई भएको बताएपनि आन्तरिक विवाद नै यसको मुख्य कारक देखिएको छ ।


सत्ताघटक नेपाली कांग्रेसले पार्टीका तर्फबाट थप नाम पठाउन बल्ल गृहकार्य थालेको छ। सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्ने गरी सूची तयार पारेका छन्।


उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग छलफलपछि थप नाम प्रधानमन्त्रीलाई बुझाउने उनको तयारी छ। आगामी बुधबारसम्म सबै मन्त्री सरकारमा पठाइसक्ने कांग्रेसको योजना छ।


देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत मन्त्री बन्ने पक्कापक्की भएको छ। केसीले शिक्षा, महतले परराष्ट्र, खाँणले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि गृह मन्त्रालय नपाएपछि सरकारमा जान नमानेका केसी अहिले शिक्षा मन्त्रालय सम्हाल्न तयार भएका छन्।


त्यस्तै, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केशवकुमार बुढाथोकी र नवीन्द्रराज जोशी पनि मन्त्री बन्ने भएका छन्। महामन्त्री शशांक कोइरालाबाट अर्को नाम प्रस्ताव नभए दीपक गिरी पनि मन्त्रिपरिषद्मा विस्तारमा समेटिनेछन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट गगनकुमार थापा र भीमसेनदास प्रधानमध्ये एक जना सहभागी हुनेछन्। यादव, जोशी र गिरी पौडेलनिकट हुन्। नेता पौडेलले मन्त्रिपरिषद् विस्तारमा आफूसँग छलफल नगरिएको भन्दै गुनासो गर्दै आएका थिए।


महतले परराष्ट्र मन्त्रालय छाड्न तयार भए नेता शेखर कोइराला उक्त जिम्मेवारीसहित सरकारमा सहभागी हुनेछन्। ’मंगलबार साँझ वा बुधबार बिहानसम्म पार्टीका थप मन्त्री सरकारमा सहभागी हुनेछन्,’ स्रोतले भन्यो, ’सभापतिजीले तयार गरेको खाका यही हो।’


सभापति देउवाले राज्यमन्त्रीको सूची भने तयार पारिनसकेको स्रोतको दाबी छ। ’अहिले मन्त्रीको मात्र कुरा भएको छ,’ स्रोतले भन्यो, ’राज्यमन्त्रीका विषयमा छलफल भएको छैन।’

कांग्रेसको भागमा उपप्रधानमन्त्रीसहित १३ मन्त्रालय छन्। यसअघि पार्टीका तर्फबाट सरकारमा सहभागी टोलीको नेतृत्व गरेर उपप्रधान तथा गृहमन्त्रीका रूपमा निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा रमेश लेखक सहभागी भइसकेका छन्।

मन्त्री बन्न भीष्मराज आङ्दम्बे, शंकर भण्डारी, अम्बिका बस्नेत, मीन विक, रामकृष्ण यादव, किरण यादव, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी, जीवन परियार, तारामान गुरुङ, राजु खनालसहितका तीन दर्जन बढी नेता सक्रिय छन्।

यसैबीच कांग्रेसले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएको छ।
नागरिकबाट

0 comments:

Post a Comment

Blog Archive